कोशी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि आज पनि छलफल

कोशी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि आज पनि छलफल

विराटनगर । कोशी प्रदेश सभा को आज बस्ने बैठकमा प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रममाथि निरन्तर छलफल हुने भएको छ।

प्रदेशसभा सचिवालयका सचिव सुदर्शन खड्का द्वारा जारी दैनिक कार्यसूचीअनुसार गत जेठ ७ गते प्रदेश प्रमुखले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहनेछ। आइतबारबाट सुरु भएको छलफलमा सत्तापक्ष र प्रतिपक्षी सांसदहरूबीच आरोप–प्रत्यारोप चलिरहेको छ।

सत्तापक्षका सांसदहरूले नीति तथा कार्यक्रमलाई प्रदेशको मुहार फेर्ने र जनताको जीवनस्तर बदल्ने कार्ययोजनाका रूपमा व्याख्या गरेका छन् भने विपक्षी सांसदहरूले यसको कार्यान्वयन क्षमतामाथि प्रश्न उठाएका छन्। विपक्षी सांसदहरूले नीति तथा कार्यक्रमलाई “आश्वासनको पोको” भन्दै आलोचना गरेका छन्।

गोम्बु शेर्पा ले सरकारको नीति तथा कार्यक्रममा वैचारिक स्पष्टता नरहेको टिप्पणी गर्दै मन्त्रीहरू नै आफ्ना कार्यक्रमबारे अनभिज्ञ रहेको आरोप लगाए। उनले भने, “यो नीति तथा कार्यक्रम जनतालाई झुक्याउने आश्वासनको थुप्रो मात्र हो।”

त्यस्तै गणेशप्रसाद उप्रेती ले सरकारले जनभावना र पहिचानका मुद्दालाई बेवास्ता गरेको आरोप लगाए। “पूर्वाधार नै नबनाई पर्यटन वर्ष घोषणा गर्नु प्रचारमुखी कार्य मात्र हो,” उनले भने, “पुराना र असफल योजनालाई नयाँ जलप लगाएर पुनः ल्याइएको छ।”

यता सत्तापक्षका सांसदहरूले भने नीति तथा कार्यक्रमको बचाउ गरेका छन्। राधाकृष्ण खनाल ले ‘युवा ट्यालेन्ट हन्ट’ र ‘म अघि बढ्छु’ जस्ता कार्यक्रमले युवा पुस्तामा नयाँ आशा जगाउने दाबी गरे।

त्यस्तै होमबहादुर थापा ले कोशी प्रदेशलाई चिया तथा कफीको ‘हब’ बनाउने लक्ष्यसहित अन्तर्राष्ट्रिय चिया सम्मेलन आयोजना गर्ने योजनाले आर्थिक समृद्धिको ढोका खोल्ने बताए।

सत्तापक्षका सांसद जयप्रकाश चौधरीकिशोरचन्द्र दुलाल ले नीति तथा कार्यक्रम सरकारको मात्रै सपना नभई प्रदेशवासीको जीवन परिवर्तन गर्ने कार्ययोजना भएको दाबी गरे।

“यो नीति तथा कार्यक्रम कोशी प्रदेशवासीको दैनिकीसँग जोडिएको छ,” सांसद दुलालले भने, “यो सरकारको सपना मात्रै होइन, प्रदेशवासीको जीवन बदल्ने कार्ययोजना हो।”