विराटनगर, १४ कार्तिक । प्रदेश नम्बर १ मा प्रदेश योजना आयोग गठन भएको छ । आज बसेको प्रदेश १ को मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगको उपाध्यक्षमा मानवअधिकारकर्मी सुवोधराज प्याकुरेललाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले बताउनुभयो ।
बैठकले आयोगको सदस्यमा मीना भण्डारी र पूर्ण लक्समलाई नियुक्ति गर्ने निर्णय पनि गरेको छ । प्रदेश योजना आयोग पाँच सदस्य रहने छ । बाँकी २ जना सदस्य नियुक्त गर्न बाँकी छ । यसैगरी मन्त्रिपरिषद्को बैठकले प्रदेश सार्वजनिक खर्च मापदण्ड र मितव्ययिता सम्बन्धी निर्देशिका तथा प्रदेशको आन्तरिक नियमावली कार्यविधिलाईसमेत स्वीकृति दिने निर्णय गरेको छ । यसैगरी कोशी प्रतिष्ठान विधेयक मस्यौदाकालागिलाई स्वीकृत दिने निर्णय पनि भएको छ । प्रदेश विकास स्वयंमसेवक परिचालन कार्यक्रम २०७५ लाई स्वीकृत गर्दै बैठकले झापा दमकको ग्रामीण सडक सुधार सञ्जाल आयोजनालाई प्रदेश सरकार मातहत ल्याउने निर्णय पनि भएको छ ।
यस्तै, सुनसरीको कोशी गाउँपालिका क्षेत्रमा कोशी कटान नियन्त्रण परियोजना अघि बढाउन तथा मध्य पहाडी लोकमार्ग अन्तर्गत तेह्रथुम र फिदिम दुई सहरलाई नयाँ सहरको रुपमा विकास गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।