आज बस्दै प्रतिनिधिसभा बैठक, विभिन्न विधेयकमाथि छलफल हुने

आज बस्दै प्रतिनिधिसभा बैठक, विभिन्न विधेयकमाथि छलफल हुने

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्ने भएको छ। बैठकमा विभिन्न विधेयकमाथि छलफल तथा निर्णय गर्ने कार्यसूची तय गरिएको छ।

कार्यसूचीअनुसार प्रधानमन्त्री तथा गृहमन्त्री एवं विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री बालेन शाह को तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम ले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

त्यसैगरी, ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ तथा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि बैठकमा प्रस्तुत गरिने कार्यसूची रहेको छ।

यस्तै, अर्थमन्त्री स्वर्णिम वाग्ले ले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन्। उक्त विधेयकमाथि प्राप्त संशोधनहरू निर्णयार्थ प्रस्तुत गरिनेछन् भने अर्थमन्त्री वाग्लेले सो विधेयक पारित गरियोस् भन्ने प्रस्तावसमेत बैठकमा पेश गर्ने कार्यसूची रहेको छ।