

काठमाडौं । नेपाल मजदुर किसान पार्टीकी सांसद पार्वती बिकले राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद कृष्णकुमार कार्की सँग जोडिएको विवादित प्रकरणबारे प्रतिनिधिसभामा प्रश्न उठाएकी छन् ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले एक विदेशी महिलासँग सम्बन्धित विषय सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चामा आएको उल्लेख गर्दै सभामुखको ध्यानाकर्षण गराएकी हुन् ।
सांसद बिकले उक्त घटनाले नेपालको अन्तर्राष्ट्रिय छविमाथि समेत प्रश्न उठाउन सक्ने बताइन् । उनले घटनाको यथार्थबारे सदनलाई जानकारी गराउन तथा आरोप सत्य भए सम्बन्धित सांसदलाई कानुनी दायरामा ल्याउन माग गरिन् ।
“हामी सबै सार्वजनिक निगरानीमा छौँ । यस्तो विषयमा गम्भीर हुनुपर्छ,” उनले संसदमा भनिन् । सामाजिक सञ्जालमा नाइजेरियाकी एक युवतीले आफूलाई गर्भवती बनाएर अलपत्र पारेको आरोप सांसद कार्कीमाथि लगाएको विषय चर्चामा रहेको छ ।
मोरङ–२ बाट निर्वाचित सांसद कार्कीले भने हालसम्म यस विषयमा सार्वजनिक प्रतिक्रिया दिएका छैनन् ।