

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत कीर्तिपुरस्थित टियु क्रिकेट मैदान मा जारी खेलमा स्कटल्यान्ड राष्ट्रिय क्रिकेट टोली ले नेपाललाई १९५ रनको लक्ष्य दिएको छ ।टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्ड ३९.१ ओभरमा १९४ रनमै अलआउट भएको हो ।
स्कटल्याण्डका लागि ब्रान्डन म्याकमुलन ले सर्वाधिक ७७ रन बनाए भने माइकल लिस्क ले अर्धशतक प्रहार गरे । जर्ज मुन्सी ले २१ र मार्क वाट ले २० रन जोडे । अन्य ब्याट्सम्यान भने दोहोरो अंकमा पुग्न सकेनन् ।
नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै स्कटल्याण्डलाई कम स्कोरमा समेटेका छन् । ललित राजवंशी ले ४ विकेट लिँदा सन्दीप लामिछाने ले ३ विकेट लिए । त्यस्तै नन्दन यादव, दीपेन्द्र सिंह ऐरी र सोमपाल कामी ले एक–एक विकेट लिए ।
यसै खेलमा सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट पूरा गर्दै विश्व कीर्तिमान समेत कायम गरेका छन् । उनले ७३ खेलमै १५० विकेट पूरा गर्दै अष्ट्रेलियाका मिचेल स्टार्क को ७७ खेलको कीर्तिमान तोडेका हुन् ।