

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल ले सिरहाबाट करिब ४० लाख रुपैयाँ बराबरको सामानसहित एक ट्रक नियन्त्रणमा लिएको छ । सिरहाको नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमा क्षेत्र नं. ७ गण मुख्यालयबाट सशस्त्र प्रहरी उपरीक्षक सुमन जंग थापा को नेतृत्वमा खटिएको ३५ सदस्यीय विशेष गस्ती टोलीले शनिबार राति करिब ८ः४५ बजे विशेष सूचनाका आधारमा चेकजाँच गर्ने क्रममा उक्त ट्रक नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरीले तस्करीमा संलग्न रहेको आरोपमा नवराजपुर गाउँपालिका–५ का अन्दाजी ५० वर्षीय राजेशकुमार यादव र ३५ वर्षीय आनन्द यादवलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार नेपालबाट भारततर्फ अवैध रूपमा लैजान लागिएको स.१ ख. ५३५ नम्बरको ट्रकमा विभिन्न प्रकारका कस्मेटिक सामग्री, मन्जन (टुथपेष्ट), ओखरलगायतका सामान फेला परेका छन् ।
बरामद गरिएको सामान तथा सवारी साधनको अनुमानित मूल्य करिब ४० लाख रुपैयाँ रहेको बताइएको छ । नियन्त्रणमा लिइएको ट्रक र सामान आवश्यक कारबाहीका लागि मांडर भन्सार कार्यालय पठाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।