कुशल भुर्तेलको शतकमा अमेरिकामाथि नेपालको शानदार जित

कुशल भुर्तेलको शतकमा अमेरिकामाथि नेपालको शानदार जित

काठमाडौँ । ओपनर कुशल भुर्तेलको उत्कृष्ट शतकको मद्दतमा नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकामाथि ९ विकेटको शानदार जित निकालेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान मा भएको खेलमा अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले ३६ ओभर ४ बलमा एक विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालका लागि कुशल भुर्तेलले ११७ बलमा अविजित १२० रनको शतकीय इनिङ खेले । उनले १३ चौका र ४ छक्का प्रहार गरे । कुशलले आसिफ शेखसँग पहिलो विकेटका लागि १४५ रनको उत्कृष्ट साझेदारी गरे । आसिफले ७२ बलमा ५९ रन बनाए । इसान पाण्डे १६ रनमा अविजित रहे ।

अमेरिकाका मोहम्मद मोहसिनले एक मात्र विकेट लिए । यसअघि टस जितेर ब्याटिङ गरेको अमेरिका ४३ ओभर ३ बलमा १९५ रनमा अलआउट भएको थियो । अमेरिकाका ओपनर स्मित पटेलले सर्वाधिक ८४ रन बनाए । उनले ८९ बलमा ८ चौका र ३ छक्का प्रहार गरे ।

स्मितले शेहान जयसुरियासँग दोस्रो विकेटका लागि शतकीय साझेदारी गरेका थिए । शेहान ५० रन बनाएर आउट भए । उक्त साझेदारीलाई नेपालका उपकप्तान दीपेन्द्रसिंह ऐरीले तोडेका थिए ।

१२२ रनमा एक विकेट गुमाएको अमेरिकाले त्यसपछि लगातार विकेट गुमायो । नेपाली बलरहरू हाबी बनेपछि अमेरिकी टोली ठूलो स्कोर बनाउन असफल भयो ।

मिलिन्द कुमार २८, कप्तान साइतेजा मुक्कामल्ला ४, शायन जहाँगीर ६, शुभम रञ्जाने २, सञ्जय कृष्णमूर्ति १, हर्मित सिंह १४, मोहम्मद मोहसिन र नोसथुस केन्जिगे शून्य रनमा आउट भए । शौरभ नेत्रभाल्कर भने अविजित रहे ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४ विकेट लिए । सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र गुल्सन झाले समान १–१ विकेट लिए । नेपालले अब आफ्नो तेस्रो खेल सोमबार Scotland विरुद्ध खेल्नेछ ।