

काठमाडौँ । भारतमा हुने साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि नेपालको अन्तिम टोली घोषणा गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार मुख्य प्रशिक्षक नवीन न्यौपानेले छनोट गरेको २३ सदस्यीय टोली सार्वजनिक गरेको हो ।
घोषित टोलीमा अनिता लम्जेल र बिर्सना चौधरीले पहिलोपटक सिनियर राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । यस्तै गीता राना, सविना चौधरी र अनिता केसीले पुनरागमन गरेका छन् ।
अघिल्लो टोलीका नियमित सदस्य सरस्वती हमाल र मनमाया दमाईं भने यसपटक बाहिरिएका छन् ।
भारतको गोवामा हुने प्रतियोगितामा नेपाल समूह ‘ए’मा रहेको छ । नेपालसँगै समूहमा श्रीलंका र भुटान छन् । समूह ‘बी’मा साविक विजेता बंगलादेश, आयोजक भारत र माल्दिभ्स रहेका छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा नेपालले जेठ ११ गते भुटानसँग प्रतिस्पर्धा गर्नेछ । त्यही दिन भारत र माल्दिभ्सबीच पनि खेल हुनेछ ।
नेपालले दोस्रो खेल जेठ १७ गते श्रीलंकासँग खेल्ने तालिका छ । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनल खेल जेठ २० गते र फाइनल जेठ २३ गते हुनेछ ।
प्रतियोगिताका सबै खेल भारतको गोवास्थित Pandit Jawaharlal Nehru Stadium मा सञ्चालन हुनेछन् ।
नेपालको अन्तिम टोली :
एञ्जिला तुम्बाप्पो सुब्बा, अञ्जना रानामगर, उषा नाथ, पूजा राना, गीता राना, विमला विक, हिरा भुजेल, प्रतिक्षा चौधरी, समीक्षा घिमिरे, निशा थोकर, सविना चौधरी, रेनुका नगरकोटे, दीपा शाही, प्रीति राई, सरु लिम्बू, बिर्सना चौधरी, अनिता बस्नेत, अनिता लम्जेल, अनिता केसी, रश्मी घिसिङ, रेखा पौडेल, पूर्णिमा राई र मीना देउवा।