

काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र अमेरिकाबीच महत्वपूर्ण खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान मा हुने खेल बिहान ९ः३० बजे सुरु हुनेछ ।
हाल जारी त्रिकोणात्मक शृङ्खलामा नेपाल, अमेरिका र स्कटल्याण्ड सहभागी छन् । अहिलेसम्म सम्पन्न दुई खेलमा स्कटल्याण्ड विजयी भएको छ । पहिलो खेलमा स्कटल्याण्डले नेपाललाई डकवर्थ–लुइस नियमका आधारमा २ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा अमेरिकालाई पनि समान २ रनले हराएको थियो ।
आइसिसी विश्वकप लिग–२ को अंकतालिकामा नेपाल २५ खेलबाट ८ जित, १५ हार र २ खेल अनिर्णितसहित १८ अंकका साथ आठौँ स्थानमा छ । नेपाललाई विश्वकप ग्लोबल क्वालिफायरमा पुग्न बाँकी ११ वटै खेल जित्नुपर्ने दबाब छ । साथै, एकदिवसीय मान्यता जोगाउन शीर्ष ६ भित्र रहनुपर्ने भएकाले आजको खेल नेपालका लागि निर्णायक मानिएको छ ।
यता अमेरिका २५ खेलबाट १८ जित र ७ हारसहित ३६ अंक जोडेर दोस्रो स्थानमा छ भने स्कटल्याण्ड ३० खेलबाट ३८ अंकसहित शीर्ष स्थानमा रहेको छ ।