एन्फा नेतृत्वमाथिको निलम्बन फुकुवा

एन्फा नेतृत्वमाथिको निलम्बन फुकुवा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा) नेतृत्वमाथि लगाएको निलम्बन फुकुवा गरेको छ ।

एन्फाका महासचिवसहित पदाधिकारीहरूले शुक्रबार शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग भेटवार्ता गरेपछि निलम्बन फुकुवा गर्ने सहमति भएको हो । एन्फाका प्रवक्ता सुरेश शाहले निलम्बन बिना शर्त फुकुवा गरिएको पुष्टि गरेका छन् ।

उनले भने, ‘बिना शर्त निलम्बन फुकुवा भएको छ । फिफालाई यसबारे जानकारी गराएपछि विस्तृत कुरा सार्वजनिक गर्छौं । निलम्बन फुकुवापछि महिला टोलीको साफ महिला च्याम्पियनसिपमा सहभागिताको सम्भावना बढेको छ ।’

यसअघि राखेपले पटकपटक दिएको निर्देशन पालना नगरेको आरोप लगाउँदै गत चैत ११ गते खेलकुद विकास ऐन, २०७७ को दफा २९ को उपदफा (२) अनुसार एन्फा नेतृत्वलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।