२ रनले चुक्यो नेपाल : गुलशनको विस्फोटक अर्धशतक पनि जितका लागि पर्याप्त भएन

२ रनले चुक्यो नेपाल : गुलशनको विस्फोटक अर्धशतक पनि जितका लागि पर्याप्त भएन

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डसँग नेपाल रोमाञ्चक खेलमा २ रनले पराजित भएको छ । कीर्तिपुरस्थित टियु मैदानमा डिएलएस मेथडअनुसार २२१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ३९ ओभरमा ७ विकेट गुमाउँदै २१८ रन मात्रै बनाउन सक्यो । अन्तिमसम्म संघर्ष गरेका गुलशन झाले विस्फोटक ब्याटिङ गरे पनि नेपाललाई जित दिलाउन सकेनन् ।

गुलशन ३५ बलमा २ चौका र ५ छक्कासहित ६१ रनमा अविजित रहे । दीपेन्द्र सिंह ऐरीले ५५ रनको योगदान गर्दा कप्तान रोहित पौडेलले ३२ र आसिफ शेखले २१ रन जोडे । करण केसीले १८ रन बनाए ।

स्कटल्याण्डका ब्राड करीले ३ विकेट लिए भने मार्क वाटले २ विकेट हात पारे । ओलिभर डेभिडसन र ज्याक जार्भिसले समान १–१ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर २४३ रन बनाएको थियो ।

स्कटल्याण्डका जर्ज मुन्सीले ७७ रनको उत्कृष्ट इनिङ खेले । माइकल फिन्ले म्याकक्रेथले ३५ रन जोड्दा इङ्लिसल ३४ रनमा अविजित रहे । माइकल लिस्कले २९, मार्क वाटले २४ तथा म्याथ्यु क्रसले १८ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा १ मेडेनसहित ४१ रन खर्चेर ४ विकेट लिए । करण केसीले २ तथा नन्दन यादवले २ विकेट हात पारे ।