देशभर बदली र वर्षा, काठमाडौं उपत्यकामा दिनभर मौसम खुल्ने सम्भावना कम

देशभर बदली र वर्षा, काठमाडौं उपत्यकामा दिनभर मौसम खुल्ने सम्भावना कम

काठमाडौं । अहिले देशभर मौसम बदली भएको छ भने अधिकांश स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण देशभर बदली र वर्षाको अवस्था बनेको हो।

मंगलबार बिहान ८ बजेको विवरणअनुसार बागमती र गण्डकी प्रदेशका केही स्थान, कोसी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थान र मधेस प्रदेशका एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

महाशाखाले आज दिउँसो कोसी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा वर्षा हुने सम्भावना रहेको जनाएको छ। साथै मधेस प्रदेश तथा अन्य पहाडी र हिमाली भूभागका थोरै स्थान र तराईका केही क्षेत्रमा पनि मेघगर्जन तथा चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।

हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि रहेको मौसमविद्ले बताएका छन्। रातिको समयमा पनि कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा जारी रहने सम्भावना छ। लुम्बिनी प्रदेशको तराई क्षेत्रसहित अन्य पहाडी तथा हिमाली भूभागमा पनि हल्कादेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

काठमाडौं उपत्यकामा दिनभर वर्षाको सम्भावना

काठमाडौं उपत्यकामा बिहानैदेखि मौसम बदलीसँगै वर्षा भइरहेको छ। मौसमविद् बिनु महर्जनका अनुसार मंगलबार दिनभर उपत्यकाको मौसम पूर्ण रूपमा खुल्ने सम्भावना कम छ।

“आज काठमाडौं उपत्यकामा थप वर्षा हुने सम्भावना उच्च छ,” उनले भनिन्, “हल्कादेखि मध्यमसम्म वर्षा हुन सक्छ।” उनका अनुसार अहिले पनि उपत्यकाका केही स्थानमा हल्का वर्षा भइरहेको छ भने बीचबीचमा घाम देखिए पनि फेरि बादल लाग्ने सम्भावना रहेको छ।