काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारले अध्यादेश ल्याउने संवैधानिक अधिकारको दुरुपयोग गरेको आरोप लगाएको छ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समयमा बोल्दै राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संविधानको मर्मविपरीत धमाधम अध्यादेश ल्याएको बताइन्।
उनले संविधानको धारा ११४ ले अध्यादेश ल्याउन सकिने अवस्था स्पष्ट रूपमा उल्लेख गरेको भए पनि सरकारले त्यसको भावना र सीमालाई बेवास्ता गरेको आरोप लगाइन्।
“प्रतिनिधिसभालाई सरकारले बेवास्ता गरेको हो कि भन्ने देखिन्छ,” ओलीले भनिन्, “अझ भनौं प्रतिनिधिसभालाई छायामा पारिएको जस्तो अनुभूति हुन्छ । प्रतिनिधिसभा सरकारको कठपुतली होइन ।”
उनले विगतमा राष्ट्रिय स्वतन्त्र पार्टीले पनि संसद्मा प्रतिनिधिसभा सरकारको कठपुतली बन्न नहुने भन्दै आवाज उठाउने गरेको स्मरण गराउँदै अहिले त्यही पार्टीका नेताहरू मन्त्रिपरिषद्मा रहेको उल्लेख गरिन्।