

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र स्कटल्यान्ड सम्मिलित त्रिकोणात्मक शृंखलाका लागि टिकट मूल्य निर्धारण गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले नेपालको खेलका लागि दुई सय रुपैयाँ तथा अन्य खेलका लागि एक सय रुपैयाँ टिकट शुल्क तोकेको जनाएको छ।
यसअघि ओमान र यूएई सम्मिलित शृंखलामा महँगो टिकट मूल्यका कारण दर्शकको उपस्थिति कम भएपछि क्यानले यसपटक सुरुदेखि नै टिकट मूल्य घटाएको हो।
त्रिकोणात्मक शृंखलाका लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा भइसकेको छ। अघिल्लो शृंखलामा रहेका बसिर अहमदलाई बाहिर राख्दै इशान पाण्डेलाई टोलीमा समावेश गरिएको छ।
नेपालले मंगलबारदेखि घरेलु मैदानमा शृंखला सुरु गर्दैछ। पहिलो खेलमा नेपालले स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। त्यसपछि शनिबार अमेरिकासँग खेल्ने तालिका रहेको छ। नेपालले आगामी सोमबार पुनः स्कटल्यान्डसँग तथा शुक्रबार अमेरिकासँग खेल्नेछ।
नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आशिफ शेख, भीम सार्की, आरिफ शेख, गुल्सन झा, सोमपाल कामी, ललित राजवंशी, विनोद भण्डारी, नन्दन याद, अर्जुन कुमाल र करण केसी रहेका छन्।