महँगा होटलमा प्रशिक्षण कार्यक्रम राखिएको भन्दै आशिका तामाङ असन्तुष्ट

महँगा होटलमा प्रशिक्षण कार्यक्रम राखिएको भन्दै आशिका तामाङ असन्तुष्ट

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले प्रशिक्षण कार्यक्रम महँगा होटलमा आयोजना गरिएकोप्रति असन्तुष्टि जनाएकी छन्। सिंहदरबारभित्र पर्याप्त सभा हल हुँदाहुँदै बाहिर कार्यक्रम गरिएको भन्दै उनले प्रश्न उठाएकी हुन्।

सिंहदरबारमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले सांसदहरूको प्रशिक्षण वा अभिमुखीकरण कार्यक्रमका लागि फाइभ स्टार होटल वा बाहिरी हल प्रयोग गर्नुपर्ने बाध्यता नभएको बताइन्।

“सिंहदरबारमा सभा हल कति छन् कति, बाहिर किन गर्ने ? बाहिर दिनको कति खर्च लाग्छ, त्यसको लेखाजोखा कसले गर्ने ?” उनले प्रश्न गरिन्।

सांसदहरूको सुरक्षाका कारण महँगा स्थानमा कार्यक्रम गरिएको हो भने अन्य दिन सुरक्षा आवश्यक नपर्ने हो ? भन्दै उनले नेतृत्वको निर्णयप्रति असहमति व्यक्त गरिन्।

“हामी आफैँ परिवर्तनको पक्षमा उभिएर फजुल खर्च नगर्ने कुरा गरिरहेका हुन्छौँ, तर व्यवहारमा उही पुरानै शैली दोहोरिने हो भने पुराना दल र हामीमा के फरक रह्यो ?” उनले भनिन्।

रास्वपाको प्रशिक्षण कार्यक्रम हाल स्टाफ कलेज जावलाखेलमा जारी छ। यसअघि पनि पार्टीले ललितपुरस्थित एक होटलमा सांसदहरूका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरेको थियो।