

रुकुमपूर्व । रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ र ६ अन्तर्गत पर्ने कैचिमोड, कमलदहललगायत क्षेत्रमा सडक अतिक्रमण गरेर बनाइएका संरचनामाथि डोजर चलाइएको छ।
गाउँपालिकाले पटक–पटक सूचना, आग्रह र समयसीमा दिँदा पनि अटेरी गरेपछि कडा सुरक्षा व्यवस्थाबीच संरचना हटाउने काम सुरु गरिएको हो।
पुष्पलाल (मध्यपहाडी) राजमार्ग क्षेत्र मिचेर बनाइएका घरटहरा, व्यावसायिक तथा अस्थायी संरचना हटाउन गाउँपालिकाले यसअघि नै सार्वजनिक सूचना जारी गरेको थियो। तर केही व्यक्तिले निर्देशन बेवास्ता गर्दै संरचना यथावत राखेपछि स्थानीय प्रशासन डोजरसहित मैदानमा उत्रिएको हो।
सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले सरकारी जग्गा अतिक्रमण गरेर सडक साँघुरो बनाउने कार्य कुनै हालतमा स्वीकार्य नहुने बताए। ‘सम्झायौं, समय दियौं, सूचना पनि जारी गर्यौं, तर अटेरी भएपछि कानुन कार्यान्वयन गर्नुको विकल्प रहेन,’ अध्यक्ष रेग्मीले भने।
डोजर सञ्चालन गरिएका क्षेत्रमा सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ। गाउँपालिकाले अब पनि राजमार्ग क्षेत्र अतिक्रमण गरेर बनाइएका संरचना नरोकिए थप कडा कारबाही गरिने चेतावनी दिएको छ।
सडक अतिक्रमणका कारण राजमार्ग विस्तार, यातायात सञ्चालन तथा सार्वजनिक सुरक्षामा असर पर्दै आएको जनाइएको छ। हटाइएका संरचनाबाट उत्पन्न हुने खर्च, क्षतिपूर्ति तथा अन्य दायित्व सम्बन्धित व्यक्तिबाटै असुल गरिने गाउँपालिकाले जनाएको छ।