

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच तीन दिनका लागि युद्धविराम घोषणा गरेका छन्। उनका अनुसार मे ९ देखि ११ सम्म युद्धविराम लागू हुनेछ।
ट्रम्पले युद्धविराम अवधिमा दुवै देशबीच हजारौँ कैदी आदानप्रदान गरिने जानकारी पनि दिएका छन्।
उनले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, “म यो घोषणा गर्न पाउँदा खुसी छु– रुस र युक्रेनबीच मे ९, १० र ११ मा तीन दिन युद्धविराम हुनेछ। रुसले विजय दिवस मनाउँदै छ र युक्रेनले पनि मनाउँदै छ, किनकि उनीहरू पनि दोस्रो विश्वयुद्धका हिस्सा हुन्।”
ट्रम्पले आफ्नो अनुरोध स्वीकार गरेको भन्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीप्रति आभार व्यक्त गरेका छन्।
उनले यो युद्धविरामलाई लामो समयदेखि जारी घातक युद्ध अन्त्यतर्फको सुरुवातका रूपमा व्याख्या गरेका छन्। “यो दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो द्वन्द्व हो र यसलाई अन्त्य गर्न वार्ता जारी छ,” ट्रम्पले बताएका छन्।
यता अमेरिका र इरानबीच भने तनाव बढिरहेको छ। दुवै पक्षले एकअर्कामाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाइरहेका छन्।