यस वर्ष मनसुन कमजोर रहने प्रक्षेपण, अधिकांश क्षेत्रमा कम वर्षा हुने अनुमान

यस वर्ष मनसुन कमजोर रहने प्रक्षेपण, अधिकांश क्षेत्रमा कम वर्षा हुने अनुमान

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको छ । विभागले बुधबार सार्वजनिक गरेको मनसुन आँकलनअनुसार गत वर्षहरूको तुलनामा यस वर्ष धेरै क्षेत्रमा कम पानी पर्ने सम्भावना रहेको जनाएको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्ष देशभर अधिकतम तथा न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी रहने देखिएको छ । महाशाखाले गर्मीको प्रभाव बढ्न सक्ने संकेत गरेको छ । महाशाखाका अनुसार कर्णाली प्रदेशका उत्तरी भू–भाग तथा कोशी प्रदेशका उत्तरी क्षेत्रमा भने सरदर वर्षा हुने सम्भावना रहेको छ ।

यस्तै कर्णाली प्रदेशका दक्षिणी भू–भाग, लुम्बिनी प्रदेशका अधिकांश क्षेत्र, मधेश प्रदेशका पूर्वी भू–भाग तथा कोशी प्रदेशका दक्षिणी क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको विभागले जनाएको छ ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशका अधिकांश भू–भाग, मधेश प्रदेशका पश्चिमी क्षेत्र तथा कोशी प्रदेशका मध्य भू–भागमा पनि सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशतसम्म रहेको महाशाखाको भनाइ छ ।

विभागले मनसुन कमजोर रहने प्रक्षेपणसँगै कृषि, खानेपानी तथा विपद् व्यवस्थापनमा आवश्यक तयारी गर्न सम्बन्धित निकायलाई सुझाव दिएको छ ।