

काठमाडौं । आज शुक्रबारदेखि देशभरका सिनेमा हलमा एकैसाथ पाँचवटा फिल्म प्रदर्शनमा आएका छन् । नेपाली चलचित्र ‘लालीबजार’, ‘मालती मंगले’ र ‘गुरुआमा’सँगै बलिउडको कृष्णावतरम पार्ट १ तथा हलिउडको मोर्टल कम्ब्याट पार्ट २ प्रदर्शनमा आएका हुन् ।
लामो समयपछि एकै दिन यति धेरै फिल्म रिलिज भएकाले मल्टिप्लेक्स हलहरूमा शो बाँडफाँट तुलनात्मक रूपमा पातलो देखिएको छ ।
प्रदर्शनतर्फ नेपाली फिल्म लालीबजार ले १२० शो, गुरुआमा ले ७१ शो र मालती मंगले ले १०३ शो पाएका छन् ।
निर्देशक यम थापा निर्देशित ‘लालीबजार’ वादी समुदायका महिलाको संघर्षको कथामा आधारित छ । फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, विशाल देवकोटा र प्रसंशा सुवेदी को अभिनय रहेको छ ।
प्रेमकथामा आधारित ‘मालती मंगले’मा वर्षा राउत र विजय बराल मुख्य भूमिकामा छन् । फिल्मको कथा तथा निर्देशन प्रकु पाण्डेय ले गरेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईं ले लेखेका छन् ।
रामकृष्ण ढकाल को डेब्यु लगानी रहेको ‘गुरुआमा’ शैक्षिक कथावस्तुमा आधारित फिल्म हो । फिल्ममा मिथिला शर्मा, गौरी मल्ल, पूजा शर्मा, बुद्धि तामाङ, सुशील पोखरेल, ध्रुव कोइराला लगायत कलाकारको अभिनय रहेको छ ।