भ्रातृ संगठनमा नयाँ नेतृत्व चयन नभएको गगन थापाको सचिवालयको स्पष्टिकरण

भ्रातृ संगठनमा नयाँ नेतृत्व चयन नभएको गगन थापाको सचिवालयको स्पष्टिकरण

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको सचिवालयले पार्टीका कुनै पनि भ्रातृ संगठनमा नयाँ नेतृत्व चयन वा मनोनयन नभएको स्पष्ट पारेको छ । सामाजिक सञ्जालमा विभिन्न व्यक्तिलाई भ्रातृ संगठनको नेतृत्वमा मनोनित भएको भन्दै बधाई सन्देश फैलिन थालेपछि सचिवालयले त्यसलाई निराधार हल्ला भएको जनाएको हो ।

सभापति थापाका स्वकीय सचिव शंकर कुइकेलले हालसम्म कुनै पनि भ्रातृ संगठनमा नेतृत्व चयन नगरिएको बताए । उनले भने, “कसैलाई पनि मनोनयन गरिएको छैन, यो बेकारको हल्ला मात्रै हो ।” नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको वैशाख २१ गते बसेको बैठकले म्याद थप नगर्ने निर्णय गरेपछि पाँच वटा भ्रातृ संगठनका केन्द्रीय कार्यसमितिहरू स्वतः विघटन भएका थिए ।

विघटन भएका संगठनहरूमा नेपाल विद्यार्थी संघ (नेविसंघ), नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल दलित संघ र नेपाल लोकतान्त्रिक खेलकुद संघ रहेका छन् । कार्यसम्पादन समितिले सभापति थापालाई अधिवेशन सम्पन्न नभएका भ्रातृ संस्थाहरूको महाधिवेशन गराउन आवश्यक व्यवस्था मिलाउने जिम्मेवारी दिएको छ ।

यसअन्तर्गत अब सभापति थापाले नयाँ तदर्थ समिति गठन गर्ने तयारी गरेका छन् । ती समितिहरूले सम्बन्धित भ्रातृ संगठनहरूको महाधिवेशन सम्पन्न गर्नेछन् । पार्टी महामन्त्री प्रदीप पौडेलले पनि म्याद सकिएका भ्रातृ संगठनमा नयाँ कार्यसमिति गठन गरिने र सोही समितिले अधिवेशन सम्पन्न गर्ने बताएका छन् ।