भुक्तानी विवादले गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण ठप्प

भुक्तानी विवादले गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण ठप्प

काठमाडौं । चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य भुक्तानी विवादका कारण ठप्प बनेको छ । निर्माण कम्पनीले काम गरेबापतको रकम नपाएको भन्दै विगत १५ दिनदेखि निर्माण कार्य पूर्णरूपमा रोकिएको जनाएको छ ।

निर्माण कम्पनी हिमालयन कालिञ्चोक बिबिआर जेभीका व्यवस्थापक विजय ढकालका अनुसार गत पुस र फागुन महिनामा पेश गरिएका दुई वटा बिलको करिब १० करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ । रकम नपाएपछि काम रोक्न बाध्य भएको उनले बताए ।

निर्माण कम्पनीले भुक्तानीका लागि बिल भरतपुर महानगरपालिकामा पेश गरिसकेको छ । महानगरपालिकाले भने प्रदेश सरकारबाट प्राप्त हुनुपर्ने रकम ढिलो हुँदा भुक्तानी प्रक्रिया प्रभावित भएको जनाएको छ ।

२०८१ असारमा भरतपुर महानगरपालिका र निर्माण कम्पनीबीच ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी ७५ करोड ५० लाख ९१ हजार १८९ रुपैयाँमा सम्झौता भएको थियो । सम्झौताअनुसार २०८३ पुस २२ गतेसम्म काम सक्नुपर्ने भए पनि हालसम्म ५० प्रतिशतभन्दा केही बढी मात्रै भौतिक प्रगति भएको छ ।

निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर प्रविन क्षेत्रीका अनुसार पहिलो टावरको अधिकांश काम सकिएको छ भने ट्रसका लागि वाल निर्माण भइरहेको थियो । दोस्रो टावरमा दुई तलाको ढलान सम्पन्न भइसकेको छ र तेस्रो तलाका लागि पिलर उठाउने काम भइरहेको थियो ।

त्यस्तै प्याराफिट निर्माण, भूमिगत विद्युत् केवल जडान, भवनभित्र विद्युत् विस्तार, अण्डरग्राउन्ड पाइपिङ, पहुँच सडक निर्माण तथा मैदानको ड्रेनेज प्रणाली निर्माणका काम पनि जारी रहेका बेला काम रोकिएको हो । मैदान र पिच निर्माणका लागि आवश्यक सामग्री ल्याउने कामसमेत भइरहेको अवस्थामा निर्माण कार्य ठप्प बनेको क्षेत्रीले बताए ।

निर्माण कम्पनीले तोकिएको समयभित्र काम सम्पन्न हुन नसक्ने देखिएकाले म्याद थपको तयारी थालेको छ । तर, रकम निकासा भएपछि मात्रै म्याद थप प्रक्रिया अघि बढाउने योजना रहेको कम्पनीले जनाएको छ ।

यसअघि धुर्मुस–सुन्तली फाउन्डेसनले सुरु गरेको रंगशालामा ५ हजार दर्शक क्षमताको प्याराफिट निर्माण भइसकेको थियो । हाल थप १० हजार दर्शक क्षमता विस्तारसहित अन्य पूर्वाधार निर्माणको जिम्मा नयाँ निर्माण कम्पनीलाई दिइएको हो । मैदानमा पाँच वटा पिच निर्माण गरिने योजना छ ।

प्रदेश सरकारले कुल लागतको ७० प्रतिशत रकम व्यहोर्ने सहमति भए पनि संघीय सरकारले चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेको छैन । अघिल्लो आर्थिक वर्षमा संघीय सरकारले छुट्याएको २५ करोडमध्ये १० करोड रुपैयाँ समयमै काम नभएका कारण फ्रिज भएको थियो । भरतपुर महानगरपालिकाले चालु वर्षका लागि ४ करोड रुपैयाँ विनियोजन गरेको छ ।

बर्खायाम नजिकिँदै गएकाले रकम निकासा भए पनि निर्माण कार्य सहज रूपमा अघि बढ्न सक्नेमा आशंका गरिएको छ ।