चार दिनको गिरावटपछि सेयर बजारमा सुधार, नेप्से ८.७८ अंकले बढ्यो

चार दिनको गिरावटपछि सेयर बजारमा सुधार, नेप्से ८.७८ अंकले बढ्यो

काठमाडौं । लगातार चार दिन घटेको सेयर बजारमा मंगलबार सामान्य सुधार देखिएको छ।

आज नेप्से परिसूचक ८.७८ अंकले बढ्दै २७१२ अंकमा पुगेको छ। अघिल्लो दिन भने बजार ३४ अंकले घटेको थियो। कारोबारका क्रममा नेप्से दिउँसो १२:४० बजे २७२५ अंकसम्म पुगे पनि टिक्न सकेन, जुन आजको उच्चतम बिन्दु रह्यो।

कारोबार रकम भने घटेको छ। अघिल्लो दिन ४ अर्ब २६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज ३ अर्ब ४३ करोडमा सीमित भयो। कुल १६२ कम्पनीको शेयर मूल्य बढ्दा ९० कम्पनीको घट्यो भने १६ कम्पनी स्थिर रहे।

समूहगत सूचकतर्फ हाइड्रोपावर समूह सबैभन्दा धेरै १.०२ प्रतिशतले बढ्यो। बैंकिङ, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन र अन्य समूहमा पनि सामान्य वृद्धि देखियो। यद्यपि विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, माइक्रोफाइनान्स, निर्जीवन बीमा र व्यापार समूहमा गिरावट आएको छ।

व्यक्तिगत कम्पनीतर्फ माथिल्लो लोहोरेखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ११.१६ प्रतिशतले बढ्यो। सोलु हाइड्रोपावर, धौलागिरि लघुवित्त र झापा इनर्जीको शेयर मूल्य पनि उल्लेख्य रूपमा बढ्यो।

त्यस्तै फर्वार्ड माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै ९.३१ प्रतिशतले घट्दा सुपरखुदी हाइड्रोपावर र रावा इनर्जीको मूल्य पनि ओरालो लागेको छ।

आज सबैभन्दा बढी कारोबार भएका कम्पनीहरूमा सोलु हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर, आँखुखोला जलविद्युत् कम्पनी र पाल्पा सिमेन्ट रहेका छन्।