

काठमाडौं । उच्च अदालत पाटनले फिल्म ‘लालीबजार’सँग सम्बन्धित मुद्दामा चलचित्र जाँच (सेन्सर) सम्बन्धी कागजात झिकाउन आदेश दिएको छ।
अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाका अनुसार प्रदर्शन अनुमति दिने केन्द्रीय चलचित्र जाँच समितिको सक्कल फाइल झिकाउन आदेश दिइएको हो।
न्यायाधीशद्वय गीताप्रसाद तिम्सिना र दीपक खनालको संयुक्त इजलासमा मंगलबार सुनुवाइ भएको थियो। अदालतले यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिँदै फिल्मको प्रदर्शन रोक्ने आदेश बुधबारसम्म कायम राखेको छ।
सूचना अधिकारी कोइरालाका अनुसार अब फाइल प्राप्त भएपछि पुनः अध्ययन गरी थप निर्णय लिइनेछ।
यसअघि १५ वैशाखमा अदालतले फिल्मको प्रदर्शन तत्कालका लागि रोक्न आदेश दिएको थियो। रोशनी नेपालीले फिल्मका केही दृश्य र संवादप्रति आपत्ति जनाउँदै रिट दायर गरेकी थिइन्।
निर्देशक यम थापाको फिल्म ‘लालीबजार’ १८ वैशाखदेखि प्रदर्शन गर्ने तयारीमा रहे पनि अदालतको आदेशका कारण रोकिएको छ।