काठमाडौं । सरकारले पछिल्लो मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार बसेको बैठकका निर्णयहरू सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी गराएका हुन्।
उनका अनुसार बैठकले संवैधानिक परिषद्सम्बन्धी पहिलो संशोधन अध्यादेश–२०८३ पुनः राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। यसअघि उक्त अध्यादेश पुनर्विचारका लागि फिर्ता आएको थियो।
त्यसैगरी भारतसँग सरकार–सरकार (जीटुजी) माध्यमबाट ६० हजार मेट्रिक टन युरिया र २० हजार मेट्रिक टन डीएपी मल खरिद गर्न कृषि सामग्री कम्पनी लिमिटेडलाई सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ।
बैठकले परम्परागत बोइलरलाई इलेक्ट्रोनिक बोइलरले प्रतिस्थापन गर्न उद्योगहरूलाई कर्जा उपलब्ध गराउने तथा वायु गुणस्तर मापन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण र ५ मिलियन अमेरिकी डलर अनुदान स्वीकार गर्ने निर्णय पनि गरेको छ।
यस्तै, संसद् भवन परिसरमा प्रवेश व्यवस्थालगायतका विषय समेटिएको सिंहदरबार परिसरको परिमार्जित गुरुयोजना स्वीकृत गर्ने निर्णय समेत मन्त्रिपरिषद्ले गरेको छ।