सरकारको पुनः स्पष्ट अडान: लिपुलेक हुँदै जाने मार्ग नेपालकै भूमि

सरकारको पुनः स्पष्ट अडान: लिपुलेक हुँदै जाने मार्ग नेपालकै भूमि

काठमाडौं । सरकारले लिपुलेक पास हुँदै कैलाश मानसरोवर जाने मार्ग पर्ने भू–भाग नेपालकै भएको विषयमा पुनः आफ्नो अडान स्पष्ट गरेको छ।

मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले सीमा विवादित क्षेत्र नेपालको भूमि भएकोमा सरकार प्रतिबद्ध रहेको बताएका हुन्।

भारतले केही दिनअघि लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा खुला गरेपछि यो विषय पुनः चर्चामा आएको हो। भारत सरकारले सन् २०२६ को जुनदेखि अगस्टसम्म उक्त यात्रा सञ्चालन गर्ने जनाएको छ।

यसअघि परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट पठाउँदै विवादित क्षेत्रमा कुनै गतिविधि नगर्न भारत र चीन दुवैलाई आग्रह गरेको थियो। त्यसको जवाफमा भारतले उक्त मार्ग पुरानै विषय भएको दाबी गरेको छ।

प्रवक्ता पोखरेलले भने, “सीमाना विवाद भएको भू–भाग नेपालको हो भन्नेमा सरकार स्पष्ट र प्रतिबद्ध छ। बाँकी विषय सम्बन्धित देशहरूबीचको संवाद र सहकार्यबाट समाधान हुनुपर्छ।”

भारतीय विदेश मन्त्रालयका अनुसार यस वर्ष कैलाश मानसरोवर यात्राका लागि कुल २० समूह रहनेछन्। तीमध्ये १० समूह उत्तराखण्ड हुँदै लिपुलेक पासबाट र अन्य १० समूह सिक्किमको नाथु ला पासबाट यात्रा गर्नेछन्। प्रत्येक समूहमा ५० जना सहभागी रहने जनाइएको छ।