

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले बुद्ध जयन्तीको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्। शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत सन्देश दिँदै उनले गौतम बुद्धका उपदेश उद्धृत गर्दै मानव जीवनमा ज्ञान र उज्यालोको महत्त्वबारे उल्लेख गरेका हुन्।
प्रधानमन्त्री शाहले बुद्धले देखाएको मार्ग दुःख निवारणको बाटो भएको उल्लेख गर्दै उज्यालोको अभाव नै अँध्यारो भएको बताएका छन्। “जतिबेला उज्यालोको किरणले पाइला टेक्छ, अँध्यारो स्वतः बिलाएर जान्छ,” उनले लेखेका छन्, “हाम्रो यात्रा ज्ञानको उज्यालोको खोजमा र समस्या समाधानको मार्गमा केन्द्रित हुनुपर्छ।”
विश्वशान्तिका अग्रदूत बुद्धको जन्मजयन्तीको अवसरमा उनले शान्ति, अहिंसा र सहिष्णुताको सन्देश फैलाउनुपर्ने आवश्यकता औँल्याएका छन्। “बुद्धको जन्मले हाम्रो नेपाल भूमि धन्य भएको छ, यो भूमि सधैं अहिंसा र शान्तिको पक्षमा उभिएको छ,” उनले उल्लेख गरेका छन्।
प्रधानमन्त्री शाहले साँचो परिवर्तन ज्ञानबाट सुरु हुने भन्दै “साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ, र त्यो ‘ज्ञ’ ज्ञान हो,” भन्ने सन्देश दिएका छन्। उनले अन्त्यमा ‘अप्प दीपो भवः’ (आफैं प्रकाश बन्नू) भन्ने बुद्धको सन्देश स्मरण गर्दै सबैमा प्रज्ञामय शुभकामना व्यक्त गरेका छन्।