

काठमाडौं । सरकारले ल्याएका अध्यादेशविरुद्ध साझा रणनीति तय गर्न विपक्षी दलहरूको बैठक आज बस्दैछ । बैठक बिहान साढे ११ बजे नेकपा (एमाले) संसदीय दलको कार्यालयमा बस्ने तय भएको छ ।
यसअघि बुधबार नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा भीष्मराज आङ्देम्बेको अध्यक्षतामा विपक्षी दलहरूको बैठक बसेको थियो । उक्त बैठकमा श्रम संस्कृति पार्टीबाहेक चार दल सहभागी भएका थिए ।
आज पुनः एमालेको कार्यालयमा बैठक बस्ने जानकारी नेकपाका प्रमुख सचेतक युवराज दुलालले दिएका छन् ।
सरकारले एकपछि अर्को गर्दै अध्यादेश ल्याएपछि विपक्षी दलहरू संयुक्त रूपमा त्यसको प्रतिवाद गर्ने तयारीमा जुटेका हुन् । आजको बैठकमा पनि अध्यादेशका विषयमा थप छलफल हुने नेताहरूले बताएका छन् ।
उता, सरकारले सिफारिस गरेका अध्यादेशबारे राष्ट्रपति रामचन्द्र पौडेलले पनि आज संविधानविद्हरूसँग परामर्श गर्ने कार्यक्रम रहेको छ ।