

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको खेलमा नेपाल ओमानसँग १०२ रनले पराजित भएको छ । वर्षाका कारण खेल डीएल पद्धति अनुसार टुंगिएपछि नेपालले लज्जास्पद हार बेहोर्नुपरेको हो ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३०५ रनको विशाल योगफल बनाएको थियो । ओमानका कप्तान जतिन्दर सिंहले उत्कृष्ट शतक प्रहार गर्दै ९६ बलमा १३० रन बनाए । उनले १५ चौका र ५ छक्का हाने । अन्य ब्याटरमध्ये जितेन रामानन्दीले ४३ रन र आर्यन विश्टले ३५ रन जोडे ।
नेपालका लागि बलिङमा सोमपाल कामीले ४ विकेट लिए भने सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान २–२ विकेट लिए ।
३०६ रनको लक्ष्य पछ्याएको नेपालले ३६.५ ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाउँदा वर्षा रोकिएन । त्यसपछि डीएल पद्धति अनुसार नेपाल १०२ रनले पराजित घोषित भयो ।
नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६० रन बनाए । उनले ६२ बलमा ७ चौका र १ छक्का प्रहार गरे । अन्य ब्याटरमा कुशल भुर्तेल १, आसिफ शेख १९, भीम सार्की २८, कप्तान रोहित पौडेल १०, बसिर अहमद १ र आरिफ शेख १४ रनमा आउट भए । गुल्सन झा १४ र सोमपाल कामी २ रनमा अविजित रहे ।
नेपालले सिरिजअन्तर्गत अब आफ्नो तेस्रो खेल शुक्रबार युएईसँग खेल्नेछ ।