सरकारको ‘हेपाहा प्रवृत्ति’ ले दुर्घटना निम्त्याउन सक्छ : गगन थापा

सरकारको ‘हेपाहा प्रवृत्ति’ ले दुर्घटना निम्त्याउन सक्छ : गगन थापा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले वर्तमान सरकारले हेपाहा प्रवृत्ति देखाएको आरोप लगाएका छन्।

सर्लाही भ्रमणका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बोलाइएको संसद् अधिवेशन रोक्दै अध्यादेश ल्याउने कदमलाई संसद् र नागरिकप्रति असम्मानजनक व्यवहारको रूपमा व्याख्या गरे।

थापाले प्रधानमन्त्री बालेन शाह पनि निर्वाचनबाटै आएको र नेपाली कांग्रेस पनि सोही प्रक्रियाबाट प्रमुख प्रतिपक्षी बनेको स्मरण गराउँदै आपसी संवादको अभावप्रति असन्तुष्टि जनाए।उनले भने, ‘हामी सबै संसद्मा छौं। यस्तो हेपाहा प्रवृत्तिले अन्ततः देशलाई अप्ठेरोमा पार्न सक्छ।’

थापाले विगतका सरकारका केही निर्णय र नियुक्ति प्रक्रियामा सुधार आवश्यक रहेको स्वीकार गर्दै त्यसका लागि संवाद र सहकार्य आवश्यक पर्ने बताए। तर, कुनै छलफल नगरी बहुमतको आडमा अध्यादेशमार्फत अघि बढ्नु उपयुक्त नभएको उनको भनाइ थियो।

उनले प्रमुख प्रतिपक्षीसँग कम्तीमा एकपटक संवाद गरेर साझा धारणा बनाउने प्रयास गर्नुपर्ने उल्लेख गरे। साथै, सरकार भर्खरै गठन भएकाले आफूहरू मधुरो रूपमा आलोचना गर्दै सहयोगी बन्न चाहेको पनि बताए।

‘हामी सरकारलाई सहयोग गर्न चाहन्छौं, तर हाम्रो अस्तित्वलाई बेवास्ता गरेर एकल ढंगले अघि बढ्ने सोचले अन्ततः समस्या निम्त्याउँछ,’ उनले भने, ‘यी विषयहरू सच्याउन अझै समय छ।’