

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले वर्तमान सरकारका गतिविधि लोकतान्त्रिक मूल्य–मान्यता र संविधानको मार्गदर्शनविपरीत रहेको आरोप लगाएका छन्।
२७औँ यदु स्मृति दिवस तथा २४औँ यदु स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले सरकारले पछिल्ला निर्णय र व्यवहारबाट जनतामा निराशा बढाएको भन्दै पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताए।
पौडेलले ट्रेड युनियन अधिकार र विद्यार्थीको सङ्गठित हुने अधिकारमाथि सरकारबाट हस्तक्षेप भइरहेको दाबी गर्दै यस्ता कदम लोकतान्त्रिक अभ्यासविपरीत हुने टिप्पणी गरे।
उनले भने, “ट्रेड युनियन र विद्यार्थी सङ्गठनको अधिकार लोकतान्त्रिक र कम्युनिस्ट दुवै व्यवस्थामा स्वीकार गरिएको आधारभूत अभ्यास हो, तर सरकार त्यसको विपरीत देखिनु विडम्बनापूर्ण हो।”
उपाध्यक्ष पौडेलले जननिर्वाचित सरकार संविधान र लोकतान्त्रिक मूल्यभित्र रहेर सञ्चालन हुनुपर्नेमा जोड दिए। साथै, जनसरोकारका विषयमा सरकार उदासीन देखिएको र जिम्मेवारीबोध कमजोर भएको आरोपसमेत लगाए।
उनले हालै सरकारले संसद छलेर अध्यादेशमार्फत शासन गर्ने प्रयास गरेको भन्दै ‘अध्यादेशको अभ्यास’ प्रति पनि आपत्ति जनाए।