

नेपालगञ्ज । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सकहरूले सुरक्षा माग गर्दै आकस्मिकबाहेकका सबै सेवा ठप्प पारेका छन्। ओपीडी लगायतका सेवा बन्द हुँदा उपचारका लागि आएका बिरामीहरू मर्कामा परेका छन्।
बैजनाथ गाउँपालिका–६ की ६२ वर्षीया दिलसरा विकको वैशाख १३ गते उपचारका क्रममा मृत्यु भएपछि उनका आफन्तले चिकित्सक र अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीमाथि दुर्व्यवहार गरेको आरोप छ। चिकित्सकहरूका अनुसार आफन्तले हातपातको प्रयास गर्नुका साथै ज्यान मार्ने धम्की दिएका थिए।
घटनापछि चिकित्सकहरूले संलग्न व्यक्तिहरूमाथि कारबाही र सुरक्षाको प्रत्याभूति हुनुपर्ने माग गर्दै आन्दोलन थालेका हुन्। अस्पतालमा दैनिक करिब एक हजार बिरामी उपचारका लागि पुग्ने गर्छन्, जसले सेवा अवरुद्ध हुँदा ठूलो असर परेको छ।
नेपाल चिकित्सक संघ भेरी शाखाका अध्यक्ष डा. रुपानन्द अधिकारीले २४ घण्टाभित्र दोषीलाई नियन्त्रणमा लिएर कानुनी प्रक्रिया अघि बढाउन र चिकित्सकको सुरक्षा सुनिश्चित गर्न माग गरेका छन्। अन्यथा, देशभरका सरकारी तथा निजी स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने चेतावनीसमेत दिएका छन्।
अस्पतालका प्रमुख डा. निराजन सुवेदीले चिकित्सकमाथि भएको आक्रमणको प्रयासले भय र त्रासको वातावरण सिर्जना भएको भन्दै सुरक्षाको ग्यारेन्टी नभएसम्म नियमित सेवामा फर्कन नसकिने बताएका छन्।
यस्तै, प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले उपचारमा लापरवाही नभएको दाबी गर्दै चिकित्सकको गल्ती प्रमाणित भए कानुनी कारबाही भोग्न तयार रहेको बताएका छन्।