‘लालीबजार’ प्रदर्शनमा अदालतको रोक, वैशाख २२ सम्म रिलिज नहुने

‘लालीबजार’ प्रदर्शनमा अदालतको रोक, वैशाख २२ सम्म रिलिज नहुने

काठमाडौँ । लालीबजा को प्रदर्शनमा उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै तत्कालका लागि रोक लगाएको छ।

मंगलबार न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले फिल्मको प्रदर्शन वैशाख २२ गतेसम्म नगर्न आदेश दिएको हो। उक्त फिल्म वैशाख १८ गतेबाट प्रदर्शनमा आउने तयारीमा थियो।

अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाका अनुसार रिट निवेदनमा उठाइएका विषयका कारण निवेदकलाई अपूरणीय क्षति पुग्न सक्ने देखिएकाले सुविधा सन्तुलनका आधारमा अन्तरिम आदेश जारी गरिएको हो।

फिल्मको प्रदर्शन रोक्न माग गर्दै बादी समुदायका तर्फबाट रोशनी नेपालीले सोमबार रिट दायर गरेकी थिइन्। फिल्ममा प्रयोग गरिएका केही शब्दप्रति बादी समुदायले आपत्ति जनाएको छ।

निर्देशक यम थापा द्वारा निर्देशित ‘लालीबजार’ बादी समुदायका महिलाको संघर्षमा आधारित कथावस्तुमा बनेको हो। फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, विशाल देवकोटाप्रसंशा सुवेदीको अभिनय रहेको छ।

अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा निर्णय गर्न अदालतले वैशाख २२ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।