

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले त्रिवि क्रिकेट मैदानको प्रयोग अवधि थप गर्न पहल सुरु गरेको छ। त्रिभुवन विश्वविद्यालयसँग भएको २५ वर्षे सम्झौता सकिन लागेपछि क्यानले म्याद थपका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) र युवा तथा खेलकुद मन्त्रालयमा पत्र पठाएको हो।
राखेपका सदस्य सचिव रामचरित्र मेहताले क्यानको पत्र प्राप्त भइसकेको जानकारी दिँदै सम्बन्धित निकायहरूसँग छलफलपछि आवश्यक निर्णय गरिने बताएका छन्। उता मन्त्रालयले पनि राखेपबाट आउने सुझावका आधारमा अगाडि बढ्ने जनाएको छ।
क्यानले २०५९ सालमा राखेपमार्फत त्रिभुवन विश्वविद्यालय सँग सम्झौता गरेर मैदान प्रयोग गर्दै आएको हो। तर ठूला खेलकुद कार्यक्रमका कारण विश्वविद्यालयको अध्ययन–अनुसन्धान प्रभावित हुने निष्कर्षसहित त्रिविले गत वैशाख ४ गते क्यानसहित १८ निकायलाई ३५ दिने अल्टिमेटम दिँदै जग्गा खाली गर्न निर्देशन दिएको थियो।
यद्यपि, युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले त्रिवि क्रिकेट मैदान र क्यानबीच पुनः भाडा सम्झौता हुने संकेत दिँदै आएका छन्। यसले मैदानको भविष्यबारे थप छलफल र सहमतिको आवश्यकता देखिएको छ।