

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेका छन्। सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन भएपछि आङ्देम्बे उनलाई भेट्न गल्फुटारस्थित निवास पुगेका हुन्।
खड्कानिकट स्रोतका अनुसार सोमबार बेलुकी ५ बजेपछि दुई नेताबीच भेट भएको हो। यद्यपि खड्काले भने मंगलबार सामाजिक सञ्जाल ‘एक्स’मार्फत भेटको तस्बिर सार्वजनिक गरेका छन्।
तस्बिर सार्वजनिक गर्दै खड्काले आङ्देम्बेलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्। उनले लेखेका छन्, “नेपाली कांग्रेस संसदीय दलको नेता सर्वसम्मत रूपमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।”
खड्काले वर्तमान संसद्को संरचनामा कांग्रेस दोस्रो ठूलो दलका रूपमा रहेको उल्लेख गर्दै प्रमुख प्रतिपक्षी दलको नेताका रूपमा आङ्देम्बेको भूमिका महत्वपूर्ण रहने विश्वास व्यक्त गरेका छन्। साथै, संवैधानिक परिषद्को सदस्यका रूपमा पनि उनको भूमिका प्रभावकारी हुने अपेक्षा गरिएको उनले बताएका छन्।
आङ्देम्बे सोमबार बसेको संसदीय दलको बैठकबाट सर्वसम्मत रूपमा दलको नेता चयन भएका थिए।