आज–भोलि देशभर वर्षा र चट्याङको सम्भावना

आज–भोलि देशभर वर्षा र चट्याङको सम्भावना

काठमाडौं । आज र भोलि देशका धेरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको मौसमविदले जनाएका छन् ।

विभागले विशेषगरी कोशी, मधेश, बागमती र गण्डकी प्रदेशकाजिल्लालाई ‘पहेँलो संकेत’ (येलो अलर्ट) जारी गर्दै वैशाख १५ र १६ गते मौसमको अद्यावधिक जानकारी लिएर मात्र यात्रा तथा अन्य काम गर्न अनुरोध गरेको छ।

मौसमविद् सरोज पुडासैनीका अनुसार यी दुई दिन ती प्रदेशका केही स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ भने हिमाली क्षेत्रमा मध्यम खालको हिमपात पनि हुन सक्छ।

वैशाख १५ गते देशका अधिकांश प्रदेशमा मध्यम वर्षा हुने सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशका केही पहाडी तथा हिमाली भूभागमा भारी वर्षा वा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

यस्तै, वैशाख १६ गते पनि कोशी, मधेश, बागमती र गण्डकीका धेरै स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ। साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि पानी पर्ने अनुमान गरिएको छ।

हाल गण्डकी प्रदेशका लमजुङ, कास्की, पर्वत, स्याङ्जा तथा बागमतीको नुवाकोटका केही स्थानमा वर्षा भइरहेको छ। लमजुङको बेँसीसहरमा एक घण्टामा १२.२ मिलिमिटर वर्षा रेकर्ड भएको छ, जुन मध्यम वर्षाको रूपमा लिइन्छ।

मौसमविद्हरूका अनुसार यो वर्षाले हाल बढिरहेको गर्मी, डढेलो र प्रदूषणलाई कम गर्न सहयोग पुग्नेछ भने केही दिनयता तातो बढेको तराई क्षेत्रमा पनि शीतलता ल्याउने अपेक्षा गरिएको छ।