नेकपाको चियापान समारोह: चालीस हजार सहभागी, ओली अस्वस्थ भएपछि अनुपस्थित

नेकपाको चियापान समारोह: चालीस हजार सहभागी,  ओली अस्वस्थ भएपछि अनुपस्थित

काठमाडौं, १० कार्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले दशै तिहार र छठको अवसरमा आज चियापान कार्यक्रम गरेको छ । राजधानीको भृकुटीमण्डपमा भएको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो ।

चियापान समारोहमा उपस्थित नेता कार्यकर्ता तथा पाहुनाहरुलाई स्वागत गर्दै अध्यक्ष पुष्पकमल दाहालले मुलुक नयाँ राजनीतिक कालखण्डमा प्रवेश गरेको बताउनुभयो । उहाँले समृद्धि र समाजवादको नयाँ युगको तयारी गर्ने सन्र्दभमा सांस्कृतिक कार्यक्रमहरुको पनि विशेष महत्व रहेको बताउनुभयो । चियापान समारोहमा पार्टी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, नेताहरु माधव कुमार नेपाल, वामदेव गौतम, सुवास नेम्वाङ्ग, रामबहादुर थापा वादल सहित सबै नेता कार्यकर्ताको उपस्थिति थियो । यसैबीच, नेकपाले गरेको चियापान कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागि हुनुभएन । उहाँ अस्वस्थ हुनुभएकाले कार्यक्रममा उपस्थिति हुन नसक्नुभएको उहाँको सचिवालयले जनाएको छ । यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को चियापान समारोहमा पुग्नु भएको थियो ।

नेपाल कम्यूनिष्ट पाटी नेकपाद्धारा भृकुटीमण्डपमा दशै तिहार नेपाल सम्वत छट लगायत पवएको अवसरमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा उपस्थित कार्यकर्ताहरुलाई स्वागत गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत नेताहरु । तस्बिर : प्रदीपराज वन्त,रासस

सभापति देउवा काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिएको चियापान समारोहमा करिब सवा ४ बजे पुग्नु भएको थियो ।

आयोजकले ५० हजारका लागि निमन्त्रणा गरेकामा चियापानमा ४० हजारको सहभागिता रहेको नेकपा निकट अखिल नेपाल टे«ड युनियन महासङ्घका अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले आयोजनाका लागि रु १० लाख रकम पेश्की निकासा गरिएको बताउनुभयो । चियापानमा सालको पाताको दुनामा निमकिन, कचौरी, केरा, लड्डु राखिएको थियो । चिया र पानीका लागि अलग्गै प्रबन्ध थियो ।

नेपाल कम्यूनिष्ट पाटी नेकपाद्धारा भृकुटीमण्डपमा दशै तिहार नेपाल सम्वत छट लगायत पवएको अवसरमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा पाहुनाहरु कुर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वरिष्ठ नेता पूर्व प्रधानमन्त्री झलनाथ खनाल ,माधव कुमार नेपाल लगायत नेताहरु । तस्बिर : प्रदीपराज वन्त,रासस

चियापानमा प्रमुख राजनीतिक दलका शीर्ष नेता, मन्त्रीगण, मुख्यमन्त्री, सांसद संवैधानिक अङ्गका पदाधिकारी, राष्ट्रसेवक, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, प्राज्ञहरु, कलाकार र सर्वसाधारणको सहभागिता थियो । चियापानमा काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री देउवासहित काङ्ग्रेस नेता प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, राष्ट्रिय जनता पार्टीका नेता महन्थ ठाकुर, भारतीय कम्युनिष्ट पार्टीका महासचिव सीताराम यचुरीलगायत नेताको सहभागिता थियो ।