कांग्रेस संसदीय दलमा बासना थापा प्रमुख सचेतक, निश्कल राई सचेतक बन्ने

कांग्रेस संसदीय दलमा बासना थापा प्रमुख सचेतक, निश्कल राई सचेतक बन्ने

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा बासना थापा नियुक्त हुने भएकी छन्। दैलेख–१ बाट पहिलोपटक निर्वाचित थापा दलको प्रमुख सचेतक बन्न लागेकी हुन्।

त्यस्तै, इलाम–१ बाट निर्वाचित युवा सांसद निश्कल राई सचेतक बन्ने भएका छन्। ३५ वर्षीय राई २०७९ सालमा मात्र पार्टी राजनीतिमा प्रवेश गरेका हुन्। यसअघि उनी नेपाल विद्यार्थी संघ मा सक्रिय थिए भने विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थासँग पनि आबद्ध रहँदै आएका छन्।

यसअघि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरेको थियो। उक्त कार्यदलमा पुष्पा भुसाल, गुरुराज घिमिरेप्रदीप पौडेल सदस्य थिए।

कार्यदलले तयार पारेको प्रस्ताव सभापति गगन कुमार थापा मार्फत कार्यसम्पादन समितिमा पेश गरिएको थियो। यद्यपि, प्रमुख सचेतक र सचेतकको नाम भने औपचारिक रूपमा सार्वजनिक गरिएको थिएन।

पार्टी विधानअनुसार प्रमुख सचेतक र सचेतक तोक्ने अधिकार संसदीय दलको नेतामा रहने भएकाले अब भीष्मराज आङ्देम्बेले औपचारिक प्रस्ताव गर्नेछन्।

कांग्रेसले आन्तरिक एकता सुदृढ गर्ने सन्देशसहित दलका पदाधिकारीहरू सर्वसम्मत चयन गर्ने रणनीति अपनाएको छ।