भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने कांग्रेसको निर्णय

भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने कांग्रेसको निर्णय

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बे लाई संसदीय दलको नेता सर्वसम्मत रूपमा चयन गर्ने निर्णय गरेको छ। उक्त निर्णयलाई अब बस्ने संसदीय दलको बैठकबाट औपचारिक रूपमा अनुमोदन गरिने तयारी गरिएको छ।

कांग्रेसले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनपछि पहिलोपटक सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गर्न लागेको हो। आङ्देम्बे समानुपातिकतर्फबाट निर्वाचित सांसद हुन्।

सुरुआतमा दलको नेताका लागि अर्जुननरसिंह केसी, मोहन आचार्य र आङ्देम्बेबीच प्रतिस्पर्धा देखिएको थियो। तर, पार्टीभित्र एकताको सन्देश दिन उनलाई नै अघि सार्ने सहमति बनेको हो।

आङ्देम्बे १४औँ महाधिवेशनमा शेरबहादुर देउवा पक्षबाट सहमहामन्त्री निर्वाचित भएका थिए। यद्यपि, सभापतिमा गगन कुमार थापा चयन भएको विशेष महाधिवेशनमा भने उनी सहभागी भएका थिएनन्। पछि उनले आफू कुनै गुटमा सीमित नभई सभापति थापाको नेतृत्वअनुसार काम गर्न तयार रहेको बताएका थिए।

पार्टी उपसभापति विश्वप्रकाश शर्मा लगायतका नेताहरूले पनि आन्तरिक एकता सुदृढ गर्न आङ्देम्बेलाई दलको नेता बनाउनुपर्ने धारणा राख्दै आएका थिए।

स्रोतका अनुसार शेखर कोइराला र देउवा पक्षका नेताहरूको समर्थनसमेत पाएपछि ३८ सदस्यीय संसदीय दलमा आङ्देम्बेको पक्षमा बहुमत सुनिश्चित भएको थियो।