

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह को नेतृत्वमा नयाँ सरकार गठन भएसँगै कूटनीतिक गतिविधि तीव्र भइरहेका बेला भारतले पनि आफ्नो सक्रियता बढाएको छ। यसैक्रममा भारतीय विदेश सचिव विक्रम मिश्री आगामी ३०-३१ वैशाखमा काठमाडौं भ्रमणमा आउने तयारी गरिएको छ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतीय पक्षले प्रस्ताव गरेको मितिमा नेपालले सकारात्मक प्रतिक्रिया दिइसकेको छ। परराष्ट्र सचिव अमृतबहादुर राई का तर्फबाट मिश्रीलाई औपचारिक निमन्त्रणा पठाइसकिएको छ।
यसअघि मोरिससमा आयोजित नवौं हिन्द महासागर सम्मेलनका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री एस जयशंकर बीच उच्चस्तरीय भ्रमणअघि दुवै देशका प्राथमिकता र कार्यक्रम टुंग्याउने विषयमा छलफल भएको थियो। सो अवसरमा जयशंकरले नयाँ सरकारका प्राथमिकता बुझ्न विदेश सचिवलाई काठमाडौं पठाउने प्रस्ताव गरेका थिए।
मिश्रीको भ्रमणका औपचारिक एजेन्डा सार्वजनिक नभए पनि नेपाल सरकारका प्राथमिकता, द्विपक्षीय सहकार्यका क्षेत्र र आगामी उच्चस्तरीय भ्रमणको तयारीबारे छलफल हुने जनाइएको छ। साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी का तर्फबाट प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो हस्तान्तरण हुने सम्भावना पनि छ।
हालै नयाँदिल्लीमा नेपाली पत्रकारहरूसँगको अन्तरक्रियामा मिश्रीले आफू चाँडै काठमाडौं आउने बताएका थिए।
परराष्ट्र मन्त्रालयका अनुसार भारतको सहयोगमा सञ्चालित आयोजनाहरूको प्रगति, देखिएका अवरोध र नयाँ सहकार्यका क्षेत्रबारे सम्बन्धित मन्त्रालयहरूसँग छलफल भइरहेको छ। मोरिससमा भएको सहमतिअनुसार द्विपक्षीय संयन्त्र सक्रिय बनाउने र सहकार्य विस्तार गर्ने तयारी पनि भइरहेको छ।
नेपाल–भारतबीच सुरक्षा, जलस्रोत, सिँचाइ, सीमा व्यवस्थापन, व्यापार, वाणिज्य र कृषिलगायत क्षेत्रमा करिब तीन दर्जन द्विपक्षीय संयन्त्र सञ्चालनमा छन्। तीमध्ये केही सक्रिय भए पनि कतिपय संयन्त्र लामो समयदेखि निष्क्रिय छन्।
मिश्रीको आगामी भ्रमणलाई उच्चस्तरीय कूटनीतिक भेटघाटको पूर्वतयारीका रूपमा हेरिएको छ। भ्रमणपछि दुई देशबीच सहकार्यलाई थप गति दिने अपेक्षा गरिएको छ।