काठमाडौं उपत्यकामा ७८१ घर भत्काइयो, अतिक्रमित बस्ती हटाउने अभियान जारी

काठमाडौं उपत्यकामा ७८१ घर भत्काइयो, अतिक्रमित बस्ती हटाउने अभियान जारी

काठमाडौं । काठमाडौँ उपत्यकामा अतिक्रमित बस्ती हटाउने अभियान तीव्र रूपमा अघि बढाइएको छ। हालसम्म थापाथली, गैरीगाउँ–सिनामंगल र शान्तिनगर क्षेत्रका कुल ७८१ घरटहरा भत्काइएको काठमाडौँ महानगर प्रहरी बलले जनाएको छ।

महानगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीका अनुसार वडा नं ११ को थापाथलीस्थित वाग्मती किनारमा रहेका १४३, वडा नं ९ को गैरीगाउँ–सिनामंगल क्षेत्रमा १६२ र वडा नं ३१ को शान्तिनगरमा ४७६ घर संरचना हटाइएको हो।

सरकारको निर्देशनअनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र महानगर प्रहरीको संयुक्त टोलीले प्रभावित परिवारलाई सुरक्षित रूपमा सरसामान सार्न सहयोग गरेपछि मात्रै डोजर प्रयोग गरिएको जनाइएको छ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणका अनुसार अब गोठाटार र मनोहरा टोल क्षेत्रमा रहेका करिब ९० घरटहरा हटाउन बाँकी छन्।

सार्वजनिक जग्गा संरक्षण, नदी किनार व्यवस्थापन तथा सहरी सौन्दर्यीकरणलाई लक्ष्य राखेर अभियान सञ्चालन गरिएको जनाइएको छ। यद्यपि, विस्थापित परिवारको दीर्घकालीन पुनःस्थापना र व्यवस्थापनबारे सरोकारवालाहरूले चासो व्यक्त गर्दै उचित विकल्प आवश्यक रहेको बताएका छन्।