

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय पुराना राजनीतिक दलहरूको कमजोरीकै परिणाम भएको स्वीकार गर्नुपर्ने बताएका छन् ।
१७३औं विश्व मजदुर दिवसका अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघले आइतबार राजधानीमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनले लामो समय सत्तामा रहेका दलहरूको कमजोरीकै आधारमा लोकप्रियतावादी शक्तिहरू उदाएको धारणा राखे ।
उनले ३६ वर्ष शासनमा रहेका कांग्रेस–एमाले र १८ वर्ष सत्तामा बसेका वाम शक्तिहरूले आफ्ना कमजोरीको आत्मसमीक्षा नगरेसम्म जनमत फर्काउन कठिन हुने स्पष्ट पारे । जनता किन पुराना दलप्रति असन्तुष्ट भए भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक रहेको उनको भनाइ थियो ।
विश्व राजनीति सन्दर्भमा उनले उदार लोकतन्त्र कमजोर बन्दै जाँदा नवउदारवाद र लोकप्रियतावादको प्रभाव बढ्दै गएको उल्लेख गरे । त्यही प्रवृत्तिको असर नेपाली राजनीतिमा पनि देखिएको उनको दाबी छ ।
पुनले बहुमतको आडमा विपक्षी आवाज दबाउने र प्रतिशोधपूर्ण व्यवहार गर्ने प्रवृत्ति बढ्दो रहेको टिप्पणी गरे । नेपालमा लोकप्रियतावाद उच्च वर्गीय र बहुसंख्यावादी चरित्रमा देखिएको भन्दै उनले अल्पसंख्यक र कमजोर वर्गप्रति अनुदार व्यवहार हुन थालेको बताए ।
सुकुम्बासी बस्ती हटाउने सरकारको कदमप्रति पनि उनले आलोचना गर्दै सहरलाई सम्भ्रान्त वर्ग केन्द्रित बनाउने प्रयास भइरहेको आरोप लगाए ।
उनले वर्तमान व्यवस्था, संविधान र लोकतन्त्रको रक्षा गर्न वाम–लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेकोमा जोड दिए ।