

बुटवल । उच्च अदालत बुटवलअन्तर्गत अतिक्रमित सरकारी जग्गामा बनेका संरचना हटाउने कार्य सुरु गरिएको छ ।
आइतबार बिहान १० बजेदेखि बुटवल–४ जेसिज चोक उत्तरतर्फ रहेका टहरा, पसल तथा अन्य संरचनामा डोजर चलाइएको हो ।
डोजर चल्ने सूचना पाएपछि स्थानीय बासिन्दाले शनिबार रातिदेखि नै आफ्नो सामान सुरक्षित स्थानमा सारिसकेका थिए ।
उक्त कार्य बुटवल उपमहानगरपालिकाले अदालतको अनुरोधमा सञ्चालन गरेको हो । लामो समयदेखि अतिक्रमणमा परेको उक्त जग्गामा घरटहरा, पसल तथा विभिन्न संघसंस्थाका भवनहरू निर्माण गरिएका थिए ।
यसअघि पनि जग्गा खाली गराउने प्रयास भए पनि सफल हुन नसकेको अवस्थामा अहिले भने डोजर प्रयोग गरेर संरचना हटाइएको हो ।