

काठमाडौं । सरकारले आज (वैशाख १३) पनि काठमाडौं उपत्यकाका सुकुम्बासी बस्ती खाली गराउने अभियानलाई निरन्तरता दिने भएको छ । मनोहरालगायत क्षेत्रका बस्तीमा आज डोजर चलाउने तयारी गरिएको छ ।
काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख एसपी विष्णु जोशीका अनुसार बिहान ९ बजेदेखि संरचना भत्काउने काम सुरु गरिनेछ । सो क्षेत्रमा बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
यसअघि शनिबार थापाथली र गैरीगाउँका सुकुम्बासी बस्ती हटाइएको थियो । कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार बुद्धचोक र वडा नम्बर ९ स्थित मनोहरा टोलका बस्ती पनि हटाउने तयारी भए पनि त्यो दिन प्रक्रिया रोकिएको थियो ।
शनिबार राति महानगर र प्रहरी टोली मनोहरामा पुगे पनि डोजरमाथि ढुंगामुढा भएपछि टोली फर्किएको थियो ।
प्रधानमन्त्री बालेन्द्र शाहले अतिक्रमणकारी र वास्तविक सुकुम्बासी छुट्याएर वास्तविकलाई जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाइसकेका छन् ।