नमुना युवा संसदद्वारा ‘शिक्षामा समान पहुँच’ सम्बन्धी संकल्प प्रस्ताव पारित

नमुना युवा संसदद्वारा ‘शिक्षामा समान पहुँच’ सम्बन्धी संकल्प प्रस्ताव पारित

पाल्पा । पाल्पाको तानसेन नगरपालिका–२ स्थित श्रीदेववाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालयमा नमुना युवा संसद् अभ्यास सम्पन्न भएको छ । विद्यालय र टोनी हागन फाउन्डेशनको संयुक्त आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो ।

नमुना संसद् बैठकमा ‘शिक्षामा सबै नागरिकका लागि समान पहुँच र अवसर सुनिश्चित गर्न शिक्षा नीति तथा कानुन संशोधन गरियोस्’ भन्ने संकल्प प्रस्तावमाथि छलफल गरी बहुमतले पारित गरिएको छ ।

कार्यक्रममा विद्यार्थीहरूले सभामुख, उपसभामुख, प्रधानमन्त्री, मन्त्री, सांसद, सचेतक, मर्यादापालक, सचिवालय कर्मचारी र पत्रकारको भूमिका निर्वाह गर्दै संसदीय अभ्यास गरेका थिए । सुविन पाण्डेले प्रस्तुत गरेको प्रस्तावमाथि विभिन्न विद्यार्थीहरूले छलफलमा भाग लिएका थिए भने नमुना शिक्षामन्त्रीका रूपमा विज्ञान तिमिल्सिनाले उठेका प्रश्नको जवाफ दिएका थिए । सभामुख स्वस्तिका पाण्डेयले प्रस्ताव पारित भएको घोषणा गरेकी थिइन् ।

शून्य समयमा सहभागीहरूले समाजका समसामयिक समस्या र विकास निर्माणका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । कार्यक्रमको अन्त्यमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

कार्यक्रमका अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमादेवी अर्यालले यस्ता अभ्यासले विद्यार्थीमा नेतृत्व क्षमता र लोकतान्त्रिक संस्कार विकास हुने बताइन् । प्रधानाध्यापक कृष्णबहादुर थापाले विद्यार्थीलाई संसदीय प्रक्रिया, तर्कशक्ति र लोकतान्त्रिक अभ्यासबारे जानकारी दिन कार्यक्रम आयोजना गरिएको उल्लेख गरे ।

कार्यक्रममा पाँच सदस्यीय संसद सञ्चालन कार्यदल गठन गरिएको थियो । साथै फाउन्डेशनका तर्फबाट पूर्व सांसद फटिक थापाले टोनी हागनका विभिन्न पुस्तक विद्यालयलाई हस्तान्तरण गरेका थिए । अतिथिहरूले विद्यालयमा यस्ता अभ्यासलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।