प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा फिर्ता निर्णयप्रति आईजीपी कार्कीको कृतज्ञता

प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा फिर्ता निर्णयप्रति आईजीपी कार्कीको कृतज्ञता

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा पुनः प्रतिष्ठानकै स्वामित्वमा कायम गर्ने सरकारको निर्णयप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

२०७५ भदौ २१ को मन्त्रिपरिषद् निर्णयअनुसार प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपति कार्यालयलाई हस्तान्तरण गर्ने व्यवस्था गरिएको थियो । तर बिहीबारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय उल्टाउँदै महाराजगञ्जस्थित प्रहरी एकेडेमीको जग्गा पुनः प्रतिष्ठानकै स्वामित्वमा रहने निर्णय गरेको हो ।

प्रहरी महानिरीक्षक कार्कीले शुक्रबार सामाजिक सञ्जालमार्फत उक्त निर्णयलाई नेपाल प्रहरीका लागि महत्वपूर्ण तथा ऐतिहासिक उपलब्धि भएको बताएका छन् ।

उनले यस निर्णयले नेपाल प्रहरीको संस्थागत सुदृढीकरण, दीर्घकालीन भौतिक पूर्वाधार विकास तथा व्यावसायिक दक्षता अभिवृद्धिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् ।

साथै उनले आगामी दिनमा पनि संगठनको क्षमता, मनोबल र सेवा प्रवाह सुदृढ बनाउन सरकारबाट निरन्तर सहयोग रहने अपेक्षा व्यक्त गरेका छन् ।