काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध दायर रिट निवेदनको सुनुवाइ स्थगित भएको छ ।
बिहीबार सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौला, नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासमा उक्त रिटको सुनुवाइ तोकिएको थियो । रिट पहिलो नम्बरमै राखिए पनि महान्यायाधिवक्ताको कार्यालयकै आग्रहमा सुनुवाइ स्थगित गरिएको हो ।
सर्वोच्च अदालतका अनुसार महान्यायाधिवक्ताको कार्यालयले दिएको निवेदनका आधारमा सुनुवाइ रोकिन गएको हो । यस रिटमा अर्को पेसी भने हालसम्म तोकिएको छैन ।
यसअघि गत पुस ३० गते तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिने निर्णय गरेकी थिइन् । सो निर्णय बदर गर्न माग गर्दै युवराज सफल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले छुट्टाछुट्टै रिट दायर गरेका थिए ।
महान्यायाधिवक्ताको निर्देशनपछि चार जिल्लाका सरकारी वकिल कार्यालयहरूले सम्बन्धित अदालतमा अभियोगपत्र संशोधनका लागि निवेदन दिएका छन् । तर जिल्ला अदालतहरूले यस रिटको टुंगो लागेपछि मात्र निर्णय गर्ने बताएका छन् ।
लामिछानेविरुद्ध कास्की, रूपन्देही, काठमाडौं र पर्साका सहकारी ठगी प्रकरणमा सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी आरोपसमेत लगाइएको छ । यसअघि चैत १५ गते सर्वोच्च अदालतले उक्त रिटलाई पूर्ण इजलासमा पठाउने आदेश दिएको थियो ।