संविधान संशोधन कार्यदलको दोस्रो बैठक आज बस्दै

संविधान संशोधन कार्यदलको दोस्रो बैठक आज बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठन भएको ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को दोस्रो बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।

बैठकमा राजनीतिक दलहरूले दिएको लिखित धारणा आधारमा पहिचान गरिएका संविधान संशोधनका विषयहरू र कार्यदलको आगामी कार्ययोजनाबारे छलफल हुने जनाइएको छ ।

यसअघि कार्यदलको पहिलो बैठक गत चैत २५ गते बसेको थियो । त्यस बैठकमा प्रारम्भिक छलफल गर्दै कार्यक्षेत्र र प्राथमिकताबारे धारणा राखिएको थियो ।

कार्यदलमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सहभागी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट मोहन आचार्य, एमालेबाट संविधानसभा सदस्य डा. भीष्मनाथ अधिकारी, नेकपाबाट पूर्वकानुनमन्त्री देवप्रसाद गुरुङ, राप्रपाबाट संसदीय दलका नेता ज्ञानेन्द्र शाही तथा राष्ट्रिय जनमोर्चाबाट महासचिव मनोज भट्ट सदस्य रहेका छन् ।