काठमाडौं । काठमाडौँ महानगरपालिकाले सबै वडामा प्राथमिक उपचार तालिम सञ्चालन गरी करिब ८ सय जना प्राथमिक उपचारकर्ता जनशक्ति तयार गर्ने अभियान अघि बढाएको छ।
नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखासँगको सहकार्यमा वडास्तरीय तालिम सञ्चालन भइरहेको महानगरले जनाएको छ।
महानगरका प्रवक्ता नवीन मानन्धरले वडा क्षेत्रभित्र हुने विभिन्न घटनाको प्रभावकारी व्यवस्थापनका लागि प्राथमिक उपचार तालिम उपयोगी हुने बताए। “घटनाका प्रकृति फरक हुँदै गएका छन्, त्यसैले व्यवस्थापन क्षमता विकास गर्न तालिम सञ्चालन गरिएको हो,” उनले भने।
वडा १७ मा सञ्चालित तालिमको समापन कार्यक्रममा बोल्दै उनले सीप सिक्नु राम्रो भए पनि त्यसको प्रयोग गर्नु नपर्ने अवस्था नै उत्तम हुने उल्लेख गरे।
महानगरको स्वास्थ्य विभाग प्रमुख दीपककुमार केसीले समुदायस्तरमा स्वास्थ्य सचेतना र क्षमता विकास कार्यक्रममार्फत स्वास्थ्य सेवाको पहुँच विस्तार गरिएको बताए।
रेडक्रस काठमाडौँ शाखाका सभापति श्यामकाजी डोटेलले तालिमले विपद् तथा आपतकालीन अवस्थामा जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।
तालिमका प्रशिक्षक राजाराम श्रेष्ठका अनुसार १६ देखि ६५ वर्ष उमेर समूहका सहभागीलाई प्राथमिक उपचारका विभिन्न सीप सिकाइएको छ। तालिमपछि प्राप्त प्रमाणपत्र नेपालसहित १९२ देशमा मान्य हुने जनाइएको छ।
तालिममा सीपीआर, रक्तश्राव नियन्त्रण, चोटपटक व्यवस्थापन, विषाक्तता, आगलागी, करेन्ट दुर्घटना, सर्पदंश, तथा घाइते ओसारपसारजस्ता आपतकालीन अवस्थाको प्राथमिक उपचार विधि अभ्यास गराइएको छ।