ओपीडी सेवा नखुम्च्याउन महामन्त्री पौडेलको सरकारलाई आग्रह

ओपीडी सेवा नखुम्च्याउन महामन्त्री पौडेलको सरकारलाई आग्रह

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा पूर्वस्वास्थ्य मन्त्री प्रदीप पौडेलले सार्वजनिक बिदाका दिनमा पनि सरकारी अस्पतालको ओपीडी सेवा निरन्तर सञ्चालन गर्न सरकारसँग आग्रह गरेका छन्।

सरकारी अस्पतालहरूमा मात्रै ओपीडी सेवा बन्द हुँदा सर्वसुलभ स्वास्थ्य सेवामा पहुँच घट्नुका साथै बिरामीमाथि थप आर्थिक भार पर्ने उनले उल्लेख गरेका छन्। “सार्वजनिक बिदामा ओपीडी सेवा नपाउँदा बिरामीले सास्ती खेप्नुपरेको छ,” उनले भने, “यसले सहज र सुलभ हुनुपर्ने स्वास्थ्य सेवा सीमित बनाएको छ।”

पौडेलले आफू स्वास्थ्य तथा जनसंख्या मन्त्री रहँदा अतिरिक्त समयमा काम गर्ने स्वास्थ्यकर्मीलाई प्रोत्साहन दिँदै बिदाका दिनमा समेत सेवा उपलब्ध गराउने व्यवस्था सुरु गरिएको स्मरण गरे। साथै, सरकारी अस्पतालमा सेवाग्राहीको चाप व्यवस्थापन गर्न ओपीडी सेवा दुई सिफ्टमा सञ्चालन गर्ने र एक्सटेन्डेड स्वास्थ्य सेवामार्फत समय विस्तार गर्ने पहल गरिएको उनले बताए।

उनका अनुसार स्वास्थ्य क्षेत्रमा सुधारका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अतिरिक्त प्रोत्साहन भत्ता दिने व्यवस्था अध्ययनसहित अघि बढाइएको थियो भने जनशक्ति अभाव पूर्ति गर्न पहिलो चरणमा २५०० नयाँ कर्मचारी थप गर्ने प्रक्रिया पनि अन्तिम चरणमा पुर्‍याइएको थियो।

स्वास्थ्य सेवा अत्यन्त संवेदनशील विषय भएकाले नागरिकलाई सेवा उपलब्ध गराउने दायरा विस्तार गर्नुपर्नेमा उनले जोड दिएका छन्। सरकारी स्वास्थ्य संस्थालाई सुदृढ बनाउँदै निजी क्षेत्रसँग सहकार्य गरेर मात्रै नागरिकमैत्री स्वास्थ्य प्रणाली निर्माण सम्भव हुने उनको भनाइ छ।

पौडेलले आफूले सुरु गरेका सुधारका कार्यक्रमहरूलाई निरन्तरता दिँदै स्वास्थ्य सेवालाई थप प्रभावकारी, पहुँचयोग्य र नागरिकमुखी बनाउन सरकारसँग आग्रह गरेका छन्।