काठमाडौं । गृहमन्त्रीबाट राजीनामा दिएपछि गृहमन्त्रालयको जिम्मेवारी तत्कालका लागि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नै सम्हाल्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उक्त मन्त्रालय अहिले प्रधानमन्त्रीकै मातहतमा रहनेछ ।
विवादित व्यापारी दीपक भट्टसँग साझेदारी रहेको तथ्य सार्वजनिक भएपछि गृहमन्त्री पदमा रहेका सुधन गुरुङ विवादमा तानिएका थिए । आफूविरुद्ध उठेका आरोपबारे निष्पक्ष छानबिन होस् भन्ने उद्देश्यले उनले पदबाट राजीनामा दिएका हुन् ।
वर्तमान सरकार गठन भएको करिब २६ दिनमै गुरुङले राजीनामा दिएका हुन् । सम्पत्ति विवरणमाथि प्रश्न उठेपछि उनले प्रधानमन्त्रीलाई भेटेर पद त्यागेका थिए । केही दिनअघि सार्वजनिक गरिएको उनको सम्पत्ति विवरणलाई लिएर अस्वाभाविक रहेको भन्दै आलोचना भइरहेको थियो ।
यसबीच माइक्रो इन्स्योरेन्स लगायतका क्षेत्रमा गरिएको लगानीका थप विवरण सार्वजनिक भएपछि विवाद झन् चर्किएको थियो । साथै, उनले सञ्चालन गरेको ‘हामी नेपाल’ नामक सामाजिक संस्थामा आएको सहयोग रकम व्यक्तिगत खातामार्फत कारोबार गरिएको विषय पनि बाहिरिएपछि उनीमाथि चौतर्फी दबाब बढेको थियो ।
उक्त दबाबका बीच उनले अन्ततः बुधबार गृहमन्त्री पदबाट राजीनामा दिएका हुन् ।